भुपु गोर्खा सैनिकका छोरा सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने

काठमाडौँ । ‘लाहुरेका छोराछोरी मिहिनेती हुँदैनन् । सुखसम्पत्तिले बिग्रिन्छन्’ भन्ने कतिपयको बुझाइलाई चिर्दै पूर्व गोरखा सैनिकका छोरा सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । उनका पिता हर्कबहादुर राईले बेलायती सेनामा सेवा गर्नुभएको थियो । उहाँ गोरखा सैन्यमा रहँदा फोक्ल्याण्ड युद्धमा समेत सामेल हुनुभएको थियो । बेलायतको ह्यारो लण्डनका बस्दै आएका हर्कबहादुर अहिले भने नेपालमा हुनुहुन्छ । किरातीको आमाको भने निधन भइसकेको छ । किराती सामान्य तहबाट राज्यको उच्च निकायका पुग्ने थोरै भोजपुरेमध्येको एक हुनुहुन्छ ।

किराँती मन्त्री बनेसँगै बेलायतमा रहेका पूर्व गोरखाहरुले पनि उनीहरूको समस्या समाधानमा सरकारबाट सहयोग हुने अपेक्षा गरेका छन् । किराती भूपू गोरखा सैनिकहरूका समस्याका बारेमा असाध्यै राम्रो जानकार भएकोले नेपाल सरकारले गोरखा भूतपूर्व सैनिकहरूका समस्याका बारेमा बेलायतसित राख्ने धारणा बनाउनमा उनको भूमिका प्रभावकारी हुने आशा राखेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङ बताउनुहुन्छ । भूतपूर्व गोरखा सैनिकका छोरा किराती मन्त्री हुँदा सारा गोरखा भूपू सैनिकहरूले गौरव महसुस गरेको बताउँदै उनले गोरखा संगठनहरूसित पनि अत्यन्तै नजिकबाट सहकार्य गरेका हुनाले किरातीप्रति गोरखाहरूको अपेक्षा निकै रहेको धारणा व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा लगातार भोजपुरबाटै विजयी हुनुभएको थियो । विसं २०६४ को संविधानसभा निर्वाचनमा २९ वर्षको उमेरमा नै संविधानसभा सदस्यमा निर्वाचित हुनु भएका किराती संविधान निर्माणमा सक्रिय सहभागी हुनुभयो । प्रतिनिधिसभा सदस्य भए पनि नियमित भोजपुर पुग्ने र जनतासँग घुलमिल गर्ने उहाँको स्वभावलाई धेरैले मन पराएका छन् । माओवादी आन्दोलनका क्रममा नौ वर्ष भूमिगत हुनुभएका किराती जनशैली पछ्याउने थोरै नेतामध्ये एक हुनुहुन्छ । पूर्वेली लवजमा बोल्ने, जनताले जे खोज्छ त्यस्तै रुपमा प्रस्तुत हुने किरातीको स्वभाव आफैँमा अनुकरणीय रहेको माओवादीका नेता तथा कार्यकर्ताको टिप्पणी छ ।

विसं २०६१ बाट २०६३ सम्म २३ महिना बन्दी जीवन बिताउनुभएका किरातीले २०७४ र २०७९ मा पनि सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । हर्कबहादुर राई र माताको नाम रक्षाकुमारीको सुपुत्रका रुपमा विसं २०३५ फागुन २२ गते भोजपुरको ओख्रेमा जन्मनुभएको हो किराती । विसं २०४६ को जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गर्नुभएका उहाँको शैक्षिक योग्यता भने विद्यालय तह बराबर छ ।

मन्त्री बन्ने भएपछि उहाँले आज आफ्ना पिता हर्कबहादुरसँग गर्नुभएको भावनात्मक संवाद सार्वजनिक गर्नुभएको छ । किराती आज अस्पताल पुग्दा उहाँका पिता शय्यामा आराम गरिरहनुभएको थियो । डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी गरेको सार्वजनिक गरेको भन्दै उहाँले सामाजिक सञ्जालमा सोही भावनात्मक संवाद उल्लेख गर्नुभएको छ ।

मन्त्री किराती र उहाँका बुबाबीच भएको संवाद जस्ताका त्यस्तै :

फोकल्यान्डको टापुको लडाइँबाट बचेर आएको यही दिन देख्न रहेछ भन्दै हर्कबहादुरले खुसी व्यक्त गर्नुभएको छ । पिताले मन्त्री बनेको पत्याउनु भएको छैन र सुदनलाई सोध्नुहुन्छ, “हँ होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो ?”

डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी

मैले भने, “बुबा म मन्त्री हुने भएँ छु ।”

बुबाः “हँ, होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?” किराती भन्नुहुन्छ, “म हो बुबा साँच्चै हो बिपना नै हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।”

बुबाः “मन्त्री चाहिँ कसरी भइस् ? कसले गर्दा भइस् ?”

मः “पहिलो त तपाईंहरुले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दुःख गरेँ, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो ।”

बुबाः “राम राम राम… म उहिले फोक्लेन्डको लडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थेँ ।”

मः “म पनि जनयुद्धमा मरेको भए त्यस्तै त हो ।”

बुबाः “हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौँ राम्रो गर्नु ।”

मः “पाउनु ठूलो कुरा होइन काम गर्नु ठूलो कुरा हो । म मेहनत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामीसँगै हुन पाएको भए ।”

बुबाः “म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनिदिउँला ।” बुबा रुनु भो

म: “सम्झे बुबाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रुनुभएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसङ्ग बेग्लाबेग्लै थियो, आँसु भने उस्तै, आँसुको मुहान र भाव भने फरक ।”