भूतपूर्व गोर्खाहरुको पेन्सन सवालमा बेलायत सरकारसँग विस्तृत वार्ता

लण्डन । गोरखाहरूको समस्याका बारेमा आज बेलायती रक्षा मन्त्रालयमा नेपाली तथा बेलायती सरकारका प्रतिनिधिहरूबीच गोरखा भूतपूर्व सैनिकहरूको समेत उपस्थितिमा भएको वार्तामा पेन्सन बारे कुरा राख्न पाएपछि गोरखाहरू खुशी देखिएका छन् ।

दुई चरणमा गरी करिब चार घण्टा चलेको वार्तापछि बेलायती रक्षा मन्त्रालयबाहिर भेला भएका गोरखाहरूलाई सम्बोधन गर्न आउँदा वार्ता टोलीका सदस्यहरू प्रशन्न मुद्रामा उपस्थित थिए ।

छोटो सम्बोधनमा वार्तामा गोरखाहरूका प्रतिनिधि मेजर रिटायर्ड जुदबहादुर गुरुङले पेन्सनका सवालमा तीनवटा कुरा आफूहरूले राखेको र बेलायती सरकारको टोलीले ती विषयहरूमा अध्ययन गर्ने आश्वासन दिएको बताए ।

‘सन् १९७५ पछिका गोरखाहरूलाई १५ वर्ष सेवा गरेवापत गोरा सहकर्मीसरह अनुपातमा (प्रोप्रोरसनेट) पेन्सन दिइनुपर्ने, २२ वर्ष सेवा गरेकाहरूलाई गोरा सहकर्मीहरूसरह पेन्सन दिनुपर्ने र १६ देखि २१ वर्ष सेवा गरेका अधिकृतहरूलाई गोरा सहकर्मीसरह पेन्सन दिइनुपर्ने विषय राखेका छौँ । बेलायती रक्षा मन्त्रालयका प्रतिनिधिहरूले यी विषयहरूमा अध्ययन गर्छौँ भनेका छन्’ गुरुङले भने ।

गेसोका उपसभापति तथा वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङले आजसम्मको वार्तामा सन्तोषजकरूपमा विषयप्रवेश नभएको र आजबाट बल्ल गोरखाहरूको समस्याका बारेमा छलफल शुरु भएको बताए । उनले आउँदो वार्तामा बेलायती सरकारको तर्फबाट पेन्सनका बारेमा सकारात्मक जवाफ पाउने आशा व्यक्त गरे ।

वार्तामा सहभागी गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले ‘भाग्न खोजेका कुखुरा चोरहरू आज पासोमा परेको’ प्रतिक्रिया दिए । उनले भने, ‘आफ्नो पीडा सुनाउन पायौँ, कुरा शुरु भएको छ । हामीहरू खुशी हुनुपर्छ ।’

वेलफेयरका सवालमा भने अहिले सोल्सब्री र अल्डरसटमा मात्र रहेको वेलफेयर सेन्टर अपुग भएको भन्दै त्यसलाई विस्तार गर्ने योजना बेलायती टोलीले जानकारी दिएको थियो । गोरखा प्रतिनिधिहरूले भने गोरखाहरूसित परामर्श गरेर मात्र कुन कुन स्थानमा विस्तार गर्ने निर्णय लिन सुझाव दिएको मेजर गुरुङले बताए । उनले नेपालमा बसोबासरत गोरखाहरूले वेलफेयरमा भोग्नुपरिरहेको समस्याका बारेमा पनि वार्तामा कुरा उठाएको प्रष्ट पारे । बेलायतमै बसोबासरत वयोवृद्ध गोरखाहरूको निधन हुँदा श्रीमती वा श्रीमानलाई वेलफेयरले अनावश्यक प्रश्नहरू साेधेर तनाव दिने गरेकोमा गोरखाहरूले प्रश्न उठाएका थिए ।

आजको वार्तामा स्टेट पेन्सन र गुडविल पेमेन्टबाहेक सबै कुरामा विषय प्रवेश भएको राईले बताए । स्टेट पेन्सन र क्षतिपूर्तिका बारेमा भने आजको वार्तामा बसेको बेलायती वार्ता टोलीको विभागीय कार्यक्षेत्र भित्र नपरेकाले छलफल नभएको बताइएको छ । मेजर जुध्द गुरुङले भने जुन विभागले ती विषयहरू हेर्छ तिनीहरूसितै वार्तामा बस्न आफूहरू सदैव तयार रहेको बताएका थिए ।

गेसो उपसभापति धर्म तामाङले आजको वार्तामा हवाइ काण्डका बारेमा पनि कुरा उठाएको बताए । बेलायती पक्षले यस बारेमा उतिबेलै छानविन भएको तर्क गरेका थिए भने गोरखाहरूले त्यतिबेलाको छानविनमा गोरखाहरूमाथि अन्याय भएकाले पुन छानविन हुनुपर्ने माग गरेका थिए ।

वार्ताको शुरुमा बेलायतले वेलफेयरका बारेमा मात्र वार्ता गर्ने भन्दै पेन्सनका बारेमा सुन्नै चाहेको थिएन । गोरखाहरू र नेपाल सरकारका प्रतिनिधिहरूका अडानका कारण आजबाट पेन्सनको विषय पनि वार्तामा समेटिएपछि गोरखाहरूको अनुहारमा चमक देखिएको हो ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अवकास प्राप्त) जुदबहादुर गुरुङ्ग, धर्मबहादुर तामाङ, ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो ।

झण्डै ४ घण्टा बैठक चलिरहंदा भूतपूर्व गोर्खाहरुले मन्त्रालय अगाडि शान्तिपूर्ण आमसभा समेत गरेका थिए । उक्त सभामा गोर्खा अभियन्ताहरुले वार्ताको परिणाम सकारात्मक आउने बताउंदै बेलायत र नेपाल सरकारलाई यसप्रति गम्भीर हुन अपिल पनि गरे ।

खनालले अर्को वार्ता जुलाई १५ भित्रै गर्न अनुरोध गरेको पनि वार्तामा सहभागी गोरखाहरूले बताए ।