लन्डन- भूतपूर्व गोर्खाहरुको मुद्दामा बेलायत र नेपालबीच जारी वार्ताअन्तर्गत तेस्रो चरणमा छलफल भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा विहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको वार्तामा सहभागी भूतपूर्व गोर्खा प्रतिनिधि मेजर जुदबहादुर गुरुङले जानकारी दिए ।

‘आज दुवै पक्षबीच प्राविधिक स्तरमा वेल्फेयर र पेन्सनका विषयमा महत्वपूर्ण छलफलहरु भएका छन्’- वार्तामा नेपालबाटै भर्चुअल सहभागी मेजर गुरुङले भने, ‘आजको वार्तामा सकारात्मक कुरा भएको छ । वार्ता उपलब्धिपूर्ण हुन्छ भन्ने आशा आजबाट झन् बढेको छ ।’

वार्ताका क्रममा बेलायती अधिकारीहरुले ‘पोलिसी’ हरुका लागि थप अध्ययन गर्नुपर्ने भएपनि ‘पोलिसी इम्प्लिमेन्टेसन’ का बारेमा रहेका कमजोरीहरु सच्याउन कुनै समस्या नरहेको बताएका थिए । वार्तामा सहभागी लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले पनि वार्ता सकारात्मक रुपमा अघि बढेको जनाए ।

‘वार्ता सकारात्मक भएको छ। पेन्सनको विषयमा निकै गहन र विस्तृत छलफल भएको छ’, नेपालले नेपाली लिंकसँग भने, ‘केही महत्वपूर्ण बुंदाहरुमा बेलायती पक्षले थप अध्ययन गरेर आउँछौं भनेको छ ।’ गोर्खा प्रतिनिधि समेत सहभागी त्रिपक्षीय छलफल दुई सत्रमा गरी जम्मा पाँच घण्टासम्म चलेको थियो ।

वार्तामा बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालयअन्तर्गत वेल्फेयर र पेन्सनसम्बन्धि विभागमा कार्यरत अधिकारीहरुको सहभागिता थियो । नेपाल सरकारको प्रतिनिधित्व लन्डन दूतावासका मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदार र द्वितीय सचिव रामबाबु नेपालले गरेका थिए।

वार्तामा गोर्खाहरुको तर्फबाट पहिलो सत्रमा गेसो उपसभापति धर्म तामाङ र नेसा अध्यक्ष केशबहादुर गुरुङ तथा दोस्रो सत्रमा बिजीडब्लुएस अध्यक्ष मेजर टिकेन्द्र दल देवान र मेजर उदयबहादुर गुरुङ ‘एमबिई’ सहभागी थिए भने वार्तामा गोर्खा प्रतिनिधि मेजर जुदबहादुर गुरुङले दुवै छलफलमा ‘भर्चुअल’ माध्यमबाट भाग लिएका थिए ।

बेलायती पक्षले अर्को चरणको छलफल आगामी फेब्रुअरी महिनामा हुन सक्ने संकेत गरेपनि गोर्खाहरुले भने मार्चभित्रै वार्तालाई अन्तिम निष्कर्ष दिनुपर्ने भएकाले अर्को छलफल जनवरीमै राख्न प्रस्ताव गरेका छन् ।

स्रोत- नेपालीलिन्क